प्रत्यूष सम्बाददाता, पिंडा / धादिङको पर्यटन विकासको लागि सबै लाग्नुपर्ने विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले बताउनुभएको छ । धादिङको पिंडा गाउँ विकास समिति वडा नम्वर–२, गलौँदी स्थित त्रिशुली नदीको किनारमा भएको ‘धादिङको पर्यटन विकास : सम्भावना र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री धमलाले धादिङमा पर्यटकीय संभावना प्रशस्त रहेको भएपनि सोचे अनुसार विकास हुन नसकेको बताउनुभयो ।
ए.वि.सी टेलिभिजनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री धमलाले ¥याफ्टिङको सम्भावना रहेको त्रिशुली नदीमाथि भैरहेको अतिक्रमणको चर्चा गर्दैै यसको नियन्त्रणको लागि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । राजमार्ग क्षेत्रमा जथाभावि खुलेका बालुवा प्रशोधन उद्योगबाट त्रिशुली नदीमा मिसाइएको धमिलो पानीले जलयात्रालाई असर पारेको बताउदै उहाँले त्यस्तो कार्य नरोकिएसम्म ¥याफ्टीङको विकासमा समस्या हुने बताउनुभयो । यसका अतिरिक्त राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तर सुधार, स्तरीय र सफा खानाको व्यवस्था तथा धादिङको उत्तरी भेगमा पर्यटन पदमार्गको विकास गर्न सकेमा धादिङमा पर्यटन विकास तिब्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले त्रिशुली नदीमाथिको अतिक्रमण रोक्न आफू प्रतिबद्ध रहेका बताउनु भएको थियो ।
सोहि कार्यक्रममा बोल्दै त्रिशुली बचाउ साझा सञ्जालका उत्तम कडेंल र जगन्नाथ नेपालले त्रिशुली नदी संरक्षणको लागि संस्थाले कार्य शुरु गरेको भएपनि यसमा सरकारी निकायबाट साथ र समर्थन नपाएको गुनासो गर्नुभयो । उहाँहरुले त्रिशुली बचाउने संस्थाको अभियानमा सबैको साथ र सहयोग हुने हो भने त्रिशुली नदीलाई पहिलेकै अवस्थामा पु¥याउन सकिने विश्वास दिलाउनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सह–इञ्चार्ज रामबहादुर भण्डारी, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका नेत्रराज पौडेल लगायतले धादिङको पर्यटन विकासमा आ–आफ्नो दलले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मणि लामिछाने, गणेश हिमाल पर्यटन विकास समितिका उपाध्यक्ष तेज गुरुङ, नारा नेपालका अध्यक्ष नानीकाजी थापा, भिरोफ नेपालका कमल सापकोटा, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदी, स्थानीय विकास अधिकारी शंकर नेपाल, उद्योग वाणिज्य संघकी कल्पना अधिकारी, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) का अध्यक्ष रमेश धमला, निलकण्ठ क्याम्पस धादिङका उप–प्राध्यापक नविनबन्धु पहाडी लगायतले धादिङमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउंदै यसको प्रचार प्रसारको लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि एवं स्थानीयबासीहरुले पर्यटन विकासका विषयमा भैरहेका कार्यहरु सम्भावनाहरुका बारेमा सुझाव तथा जिज्ञासा राखेका थिए । कार्यक्रमकै अवसरमा सम्बृद्धि नेपलले प्रकाशन गरेको ‘पर्यटकीय बिम्बचित्रमा धादिङ’ शीर्षकको पुस्तक पनि विमोचन गरिएको छ ।




0 comments to "पर्यटन विकासको लागि सबै लाग्नुपर्छ : मन्त्री धमला"