धादिङ (प्रस), ‘सम्बृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटन विकास र उद्योगको स्थापना’ भन्ने मुल नाराका साथ हुन लागेको धादिङ कृषि पर्यटन तथा औद्योगिक मेलाको प्रचार–प्रसारको लागि सूचना तथा प्रचार प्रसार समितिले आफ्नो काम तिव्र पारेको छ । मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट प्रचार प्रसारको कार्यलाई तिव्र बनाएका छन् ।
यसैबीच बुधवार मेला आयोजक समितिको सचिवालय धादिङ उद्योग वाणिज्य संघमा बसेको समितिको दोश्रो बैठकले मेलाको प्रचार प्रसारको लागि छिटो भन्दा छिटो काम शुरु गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष ध्रुवबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मेलाको प्रचार–प्रसारको लागि राजमार्ग क्षेत्र र सदरमुकाका मुख्य स्थानमा भित्ते लेखन गर्ने, धादिङ र चितवनको सिमा क्षेत्रमा रहेको ‘मौवा खोला’ तथा काठमाण्डौं संगको सिमाना ‘नागढुङ्गा’मा स्वागतद्वार निर्माण गर्ने, राजमार्गका मुख्य केही स्थानमा व्यानर तथा होर्डिङ बोर्ड राख्ने र मेला सञ्चालन हुने स्थल पिंडा –२, गालौँदी क्षेत्रमा पनि होर्डिङ बोर्ड राख्ने विषयमा छलफल भएको छ ।
त्यसैगरी मेलालाई अझै प्रभावकारी ढंगले प्रचार–प्रसार गर्नको लागि धादिङबाट सञ्चालित हुने बस, मिनिबस तथा माइक्रोबसहरुमा सुचना सहितका ब्यानरहरु राख्ने र हुलाकबाट वितरण हुने चिठिपत्रहरुमा मेलाको सन्देश झल्कने सूचना मुलक सामग्री लेखिएको छाप टाँस गरी चिठिपत्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।
मेलाको प्रचार–प्रसारको लागि उपयुक्त गित रचना गरी विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने तथा गितको ‘रिङ व्याक टोन’को व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो । यसका साथै धादिङबाट नजिक रहेका जिल्लाहरुमा सञ्चालन हुने मेला एवं महोत्सवमा सूचना तथा प्रचार–प्रसार समितिले गर्दै आएका कार्यहरुको बारेमा जानकारी लिने विषयमा पनि छलफल भएको छ ।
बैठकमा सूचना तथा प्रचार प्रसार समितिका संयोजक ध्रुबहादुर थापा सहित सह–संयोजक रामेश्वर कार्की, सदस्यहरु केशव अधिकारी, राजन अधिकारी, नारायणचन्द्र सुवेदी, शंकर श्रेष्ठ, सरोज पौडेल, अर्जुन खतिवडा, केशव नेपाली, सानुबाबु तिमिल्सिना र रामचन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।





0 comments to "मेलाको प्रचार प्रसारलाई तिब्रता दिइने"