(बाबुराम श्रेष्ठ) धादिङबेसी । विद्यालयको सरसफाई र भौतिक पूर्वाधार विकासमा विदेशी स्वयमसेवी युवा युवतीहरुले सक्रियता देखाएका छन् । यसैक्रममा सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यमिक विद्यालय तथा क्याम्पस परिसरमा स्वयमसेवी युवा युवतीहरुले हातमा साबेल लिएर सरसफाई शुरु गरे । युवा सञ्जाल धादिङ र कोरियन संस्था सर्भिस फर पिसको आयोजनामा मंगलबारदेखि धादिङबेसीमा ७ दिने ‘विश्व शान्ति निर्माण क्याम्प’ सुरु गरिएको हो । स्थानीय स्वयमसेवी युवाहरु संग समन्वय गरी जिल्लाका विभिन्न विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यवस्थापन लगायतका कार्यमा कोरियन युवा युवतीहरुले सहयोग गर्दै आइरहेका छन् । विश्वमा बढ्दै गएको हत्या हिंसा र अराजकताको अन्त्यका लागि युवाहरुलाई जागरुक र क्रियाशील बनाउन कोरियन युवा युवतीहरुले शुरु गरेको अभियान अन्तर्गत जिल्लाका विद्यालयहरुमा सरसफाई तथा भौतिक निर्माणका कामहरु गरिएको हो ।
यसैक्रममा नीलकण्ठ क्याम्पस धादिङबेसीको प्राङ्गणमा सुरुभएको अभियानमा सहभागीहरुलाई नीलकण्ठ क्याम्पसको तर्फबाट स्वागत गरिएको थियो । नीलकण्ठ क्याम्पसका प्रमुख भूपेन्द्र कुमार श्रेष्ठ र नीलकण्ठ उमाविका प्रधानाध्यापक बाबुराम अधिकारीको नेतृत्वमा रहेका शिक्षक र विद्यार्थीहरुले क्याम्पमा सहभागी टोलीलाई स्वागत गरेका थिए । टोलीमा ३५ जना कोरियन र ३५ जना नेपाली विद्यार्थीहरुको सहभागीता रहेको युवा सञ्जाल धादिङका अध्यक्ष पार्वती श्रेष्ठले बताउनु भयो । उनीहरुले सात दिनसम्म चल्ने क्याम्पमा नीलकण्ठ क्याम्पसमा स्थापना गरिएको जनता पुस्तकालयको व्यवस्थापन, आसपासमा सरसफाईका साथै पुस्तकालयको स्तरोन्नतीको काम गर्ने बताइएको छ ।




0 comments to "विश्व शान्तिको खोजीमा कोरियन विद्यार्थी"