नुवाकोट (प्रस), मिडिया स्कूल र मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित विकास पत्रकारिता र ट्राउट माछा प्रविधि विकास तथा विस्तार विषयक तीनदिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । परम्परागत तथा निर्वाहमुखी कृषि पेशा अंगाली रहेकाहरुको जन जिविकामा रेन्वो ट्राउट माछाको व्यवसायिक उत्पादनले समग्रमा आर्थिक विकासका सन्दर्भमा यसको प्रचारप्रसार गर्न विकास पत्रकारिताको अवधारणामार्फत सञ्चारकर्मीहरुलाई अन्तक्र्रियात्मक प्रशिक्षण दिइएको हो । कार्यक्रम अवधिभर वरिष्ठ कृषि विशेषज्ञ भोलानाथ सिंह बस्नेत, वकिल तथा प्रशिक्षक सुमन आचार्य र पत्रकार रामदत्त पन्त लगायतले प्रशिक्षण दिनुभएको थियो । धान बालीको अवस्था, कृषि पत्रकारिता, विकास पत्रकारिता, फिचर लेखन, रेन्बो ट्राउट माछा लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निमित्त कार्यकारी निर्देशक डा. टेक बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी दामोदर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक तथा विकास पत्रकारितामा क्रियाशिल रही राष्ट्रिय तथा स्थानीय स्तरमा कार्यरत राजधानी सहित नुवाकोट र रसुवा जिल्लाका ३२ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कृषि अनुसन्धान परिषद (नार्क) ले संयोजन गरेको अन्तरक्रियामा नेपाली पत्रकारिताले कृषिको विकासमा पु¥याएको योगदानको समीक्षा समेत भएको थियो ।
राजधानी र स्थानीय स्तरमा रही कार्य गर्ने पत्रकारहरु बीच विकास पत्रकारिताका अनेकौँ आयामहरुले दिने योगदान तथा आर्थिक विकासमा विकास पत्रकारिताको खाँचोलाई पूर्णता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था मिडिया स्कुल काठमाण्डौंका अध्यक्ष नवराज चालिसेले बताउनुभयो । दुई दिने कार्यक्रम समापनको अवसरमा मानव जन जिविकाको विकास र त्यसको दीर्घकालीन स्थायित्वका सम्वन्धमा कृषि विज्ञ, अनुसन्धानकर्ता, व्यवसायी तथा विकास पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारिता समाजको आमुल परिवर्तनको सशक्त माध्यम भएकोले विकास पत्रकारिताको माध्यमबाट सर्वसाधारण र पुरै समाजलाई आर्थिक क्रान्तितर्फ उन्मुख गराउनुपर्ने विषयमा जोड दिइएको थियो ।




0 comments to "नुवाकोटमा विकास पत्रकारिता तालिम"