वेनिघाट (प्रस), वेनिघाट गाउँ विकास समितिको मलेखुमा रहेको वागेश्वरी उच्च माध्यामिक विद्यालयमा भवन निर्माणको क्रममा आर्थिक अनियमितता भएको प्रतिवेदन छानविन समितिले सार्वजनिक गरेको छ । भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको आशंकामा स्थानीय समाजसेवी देवप्रसाद त्रिपाठी ‘जयदेव’ को संयोजकत्वमा गठन गरिएको सर्बदलीय छानविन समितिले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा विद्यालयमा भवन निर्माणका लागि गुणस्तरहिन सामाग्री प्रयोग गरेको, विलमा उल्लेख भएको परिणाममा निर्माण सामाग्री प्रयोग नगरिएको र आर्थिक हिसाव पारदर्शी नभएको उल्लेख गरिएको छ । भवनको प्राविधिक परिक्षणका क्रममा विलमा उल्लेख भएको भन्दा करिव २ सय ६० बोरा कम सिमेन्ट र करिव ७ सय किलो छड कम प्रयोग भएको पाईएको छानविन समितिका संयोजक एवं स्थानीय समाजसेवी देवप्रसाद त्रिपाठी ‘जयदेव’ले बताउनु भयो ।
भवन निर्माण पश्चात प्रस्तुत गरिएको आर्थिक विवरणमा केहि रकम मात्र कम भएको जस्तो देखिएपनि त्यो अनुपातमा निर्माण सामाग्री प्रयोग नभएको उहाँले दावी गर्नुभयो । छानविन समितिले ३ महिना लगाएर तयार पारेको प्रतिवेदन पेश गरेपछि आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको हो । भवन निर्माणको आर्थिक कारोवार विद्यालयका प्रधानाध्यापक देवप्रसाद त्रिपाठीले गरेकाले यस विषयमा थप छानविन आवश्यक रहेको उहाँले बताउनु भयो । छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भनेर नतोकिए पनि प्रधानाध्यापकले आर्थिक कारोबार गरेकाले स्वभाविक रुपमा उहाँ माथि आशंका गरिएको संयोजक त्रिपाठीको भनाई छ ।
यता विद्यालयका प्रधानाध्यापक देवप्रसाद त्रिपाठीले भने आफूमाथि लागेको आर्थिक अनियमितताको आरोप निराधार भएको बताउनु भएको छ । भवन निर्माणको सम्पूर्ण हिसाव आफूले सार्वजनिक गरेको भन्दै उहाँले छडको लागि जिम्मेवारी दिइएको सुपरभाइजर र सिमेन्ट उपलब्ध गराउने व्यक्तिले आफूलाई त्यहि अनुसारको विल पेश गरेको बताउनु भयो । यस विषयमा सुपर भाइजरसंग बुझेर थप भन्न सकिने प्रधानाध्यापक त्रिपाठीको भनाई छ । भवन विदेशी दातृ निकायको सहयोगमा दुई वर्ष अघि निर्माण सम्पन्न भएको थियो ।




0 comments to "आर्थिक अनियमितता गरेको आरोप"