रामहरि गजुरेल, नुवाकोट / नुवाकोट जिल्लाका १ सय ८ वटा सहकारी संस्थाहरुले असोज मसान्त भित्र लेखापरिक्षण गरिसक्नु पर्ने प्रावधान भए पनि लेखा परिक्षण नगरेको तथ्य खुलेको छ । डिभीजन सहकारी कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा सञ्चालित २ सय ९४ मध्ये एक सय ७८ सहकारीले मात्र निर्धारित समयमा लेखा परिक्षण गराएका छन् । चालु आर्थिक बर्षमा दर्ता भएका ८ वटा सहकारी संस्थाले भने अहिले लेखा परिक्षण गर्न नपर्ने कार्यालयले जनाएको छ । असोज महिना भित्र लेखा परिक्षण नगर्ने सहकारीले पुस भित्र लेखा परिक्षण गर्दा प्रतिमहिना संस्थाको कारोबार हेरेर रु.३ सय देखि रु.१ हजार पाँच सय सम्म जरिवाना तिर्नु पर्ने प्रावधान रहेको डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख रोमाकान्त काफ्लेले बताउनुभयो ।
सो अबधिमा पनि लेखा परिक्षण नगर्ने सहकारीलाई निस्क्रिय सहकारीको सुचीमा राख्ने गरिन्छ । निस्क्रिय सुचीमा परेपछि लगातार दुई बर्षसम्म लेखा परिक्षण नगर्ने सहकारीलाई डिभीजन सहकारी कार्यालयले सहकारी ऐन र नियमावली अनुसार खारेज गर्न सक्ने डिभीजन प्रमुख काफ्लेको भनाई छ । डिभीजन सहकारी कार्यालय र जिल्ला सहकारी संघ नुवाकोटले आयोजना गरेको प्रथम चौमासिक समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार गत बर्षको तुलनामा यो बर्ष लेखा परिक्षण गर्ने सहकारीको संख्या भने बढेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सहुलियत दरको रासायनिक मल वितरणको अनुमति लिनको लागी लेखापरिक्षण र बार्षिक साधारणसभा अनिवार्य गरेको हुनु पर्ने नियम बनाएपछि गतवर्षको तुलनामा यो वर्ष लेखा परिक्षण गराउनेको संख्या बढेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो । गत बर्ष १ सय ८१ वटा सहकारीले रासायनिक मलको वितरण गरेकोमा लेखा परिक्षण गर्नै पर्ने नियम बनेपछि यो वर्ष ८० वटा सहकारीले मात्र मलको कारोबार गरेका मिश्रले बताउनुभयो ।




0 comments to "एक सय आठ सहकारीले लेखापरिक्षण गराएनन्"